अन्ततः पछि हटे ओली, जेठ २ मा फर्कन तयार (बिज्ञप्तीसहित)

निरन्तर न्यूज
२३ जेष्ठ २०७८, आईतवार २१:४३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि आह्वान गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै आफू पार्टीलाई २०७५ जेठ २ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको बताउँदै एकताको लागि अपिल गरेका हुन् ।

उनले पार्टी पंक्तिका सबैलाई पार्टी एकतामा आउन आह्वान गर्दै केही शर्त अगाडि सारेका छन् । एकताको लागि तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने बताएका छन् ।

उनी वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतामाथि गरिएको कारबाही पनि फिर्ता लिन सहमत भएका छन्।

ओलीले पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमाा २०७५ जेठ २ पूर्वको अवस्थामा फर्के क्रियाशील हुने अपिलमा उल्लेख गरेका छन् । आइतबार पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता भएमा पार्टी एकता कायम रहन सक्ने बताएका हुन् ।

‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेकपाको केन्द्रीय कमिटिका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछन्,’ उनले भनेका छन् ।

माधव नेपाल समूहले ओलीले अनावश्यक अलमल गरेको भन्दै वार्तामा नअल्मलिने निर्णय गरेपछि ओलीले यस्तो अपिल गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*