निवर्तमान परराष्ट्रमन्त्रि ज्ञवालीले गरे सम्पत्ती सार्वजनिक
काठमाण्डाैँ । एमाले नेता एवं निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सरकारबाट बाहिरिएलगत्तै उनले सम्पत्ति विवरण सार्वजनिक गरेर आफ्नो व्यक्तिगत खातामा सात लाख ४१ हजार सात सय ७५ रुपैयाँ ६० पैसा जम्मा रहेको जानकारी दिएका हुन् । साथै केही घरयासी सामान एवं दुई सयजति पुस्तक थपिएको पनि ज्ञवालीले स्पष्ट पारेका छन् ।
मन्त्री बनेपछि उनले आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको उल्लेख गरेका छन् । मन्त्री बनेको अविधिमा आफूले नौ लाख रुपैयाँभन्दा बढी लेबी पार्टीलाई बुझाएको ज्ञवालीले बताए ।
उनले सामाजिक सञ्चालनमा विदेश भ्रमणवापतको लेबी तीन लाख १४ हजार नौ सय ३० र पारिश्रमिक वापतको छ लाख २० हजार गरी जम्मा नौ लाख ३४ हजार नौ सय ३० रुपैयाँ पार्टीको खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीवापत तीन लाख ७२ हजार चार सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको खुलाएका छन् ।
आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) हिजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास आज (शनिबार) छाड्ने उनले बताएका छन् ।
ज्ञवाली ३० फागुन २०७४ मा परराष्ट्रमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रिमण्डल विस्तार गरेसँगै शुक्रबारदेखि उनी पदमुक्त भएका छन् ।
ज्ञवालीले आफूलाई परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार व्यक्त गरेका छन्। ‘करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु’, उनले भनेका छन्, ‘यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु।’
ज्ञवालीले मन्त्री रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यस अवधिमा सञ्चारकर्मी एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग आफ्ना लागि मूल्यवान रहेको बताएका छन्। उनले नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन्।