सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति राजनीतिक दलहरुकाे आपत्ति
ताप्लेजुङ। सरकारले ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम परिवर्तन गरेकोप्रति जिल्लाका राजनीतिक दलले आपत्ति जनाएका छन्।
सरकारले विमानस्थलको नाम परिवर्तन गरेर ताप्लेजुङको पहिचान र इतिहासमाथि आक्रमण गर्न खोजेको भन्दै सात राजनीतिक दलले गम्भीर आपत्ति जनाएका हुन्। विकासका नाममा स्थानीय जनताको मौलिकतामाथि हुने हस्तक्षेप कुनै हालतमा स्वीकार गर्न नसकिने भन्दै उनीहरुले यसलाई सच्याउन सरकारसँग माग गरेका छन्।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र सङ्घीय लिम्बूवान मञ्च नेपालले संयुक्त रुपमा आइतबार विज्ञप्ती जारी गर्दै यसलाई नसच्याए सशक्त प्रतिरोध गर्ने जनाएका छन्। सरकारले शनिबार बजेट सार्वजनिक गर्दै सुकेटार विमानस्थलको नाम परिवर्तन गरी ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गर्ने जनाएको थियो।