मन्त्रिपरिषद् बैठक, बजेट अध्यादेश सिफारिस गर्ने
काठमाण्डाैँ । बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद्को बैठक आज (शनिबार) बिहान बस्दै छ ।
बिहान ११ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बजेटका सबै दस्ताबेजलाई शुक्रबार राति अन्तिम रूप दिइएको बताए ।
उनका अनुसार सिफारिस पेस गर्नका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने ज्ञवालीले बताए ।
राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत १६ खर्ब हाराहारीको बजेट सार्वजनिक गर्ने छन् । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको ज्ञवालीको भनाइ छ ।
तर प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई सरोकारवाला र अन्य राजनैतिक दलले दबाब दिइरहेका छन् । दबाबबीच सरकारले भने अध्यादेशमार्फत बजेट ल्याउने भएको छ ।
सरकारले काम चलाउनभन्दा पनि अध्यादेशमार्फत पूर्ण बजेट ल्याउन लागेको हो ।