४ सय ३० कैदीको सजाय मिनाहा
काठमाण्डाैँ। गणतन्त्र दिवसका अवसरमा चार सय ३० कैदीको सजाय मिनाहा गरिएको छ ।
विभिन्न अपराधमा दोषी ठहर भएर कैद सजाय भुक्तान गरिरहेकामध्ये राष्ट्रपति विद्यादेवी भण्डारीले चार सय ३० कैदीलाई माफी मिनाहा गरिदिएकी हुन् । मन्त्रिपरिषद्को सिफरिसमा १४ औँ गणतन्त्र दिवसका अवसर पारेर उनीहरुको कैद कट्टा गर्दै सजाय मिनाहा गरिएको हो ।
माफी मिनाहा गरिएका कैदी जेलमुक्त भएका छन् । सरकारबाट सजाय छुट भएपछि उनीहरु अब कैदी जीवनबाट बाहिर आएका छन् ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा खुलाइएको छ ।