संसद विघटनपछि सक्रिय हुँदै सभामुख

निरन्तर न्यूज
१३ जेष्ठ २०७८, बिहीबार ११:१४

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनका विषयमा परामर्श थालेका छन् ।

संसद विघटनपछि सभामुखको भूमिका कस्तो हुनुपर्दछ भन्ने विषयमा परामर्श गरिरहेका सभामुख सापकोटाले आज संविधानविद्, कानुनी तथा न्यायिक क्षेत्रका विज्ञहरुसँग परामर्श गर्न लागेको सचिवालयले जनाएको छ ।

बिहीवार (आज) दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्नेछ ।

यसअघि मंगलवार सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग परामर्श गरेका थिए । मंगलवार पूर्व सभामुखहरु तारानाथ रानाभाट, रामचन्द्र पौडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरासँग परामर्श गरेका हुन् ।

पूर्व सभामुख रानाभाट भर्चुअल माध्यमबाट उपस्थिती जनाएका थिए भने अन्य तीन जना भौतिक रुपमै उपस्थिती भएर परामर्श गरेका हुन् । त्यस्तै मंगलवारको परामर्शमा तीनै जना पूर्व सभामुखहरुले अल्पमतको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गर्न नमिल्ने बताएका थिए ।

शुक्रवारको मध्यराति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै सभामुख सापकोटाले त्यसलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै पुनःस्थापना हुनुपर्नेमा जोड दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*