सडन डेथमा म्यानचेस्टरका गाेलरक्षककाे प्रहार चुकेपछि उपाधी भिल्लारियलकाे कब्जामा
काठमाडौं । युइएफए युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब भिल्लारियलले जितेको छ । गएराति भएको रोमाञ्चक फाइनल खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई सडन डेथमा ११-१० ले हराउँदै भिल्लारियलले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयको खेलको २९औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए भने ५५औं मिनेटमा एडिन्सन काभानीले बराबरी गोल फर्काएका थिए ।
त्यसपछि निर्णायक गोल निस्कन नसक्दा खेल टाइब्रेकरमा गएको हो । टाइब्रेकरमा दुवै टोलीका तर्फबाट सुरुवाती १० प्रहार गोलमा परिणत भएका थिए ।
त्यसपछि गोलरक्षकको प्रहारमा भिल्लारियलका गोलरक्षक रुल्लीले गोल गरे । तर म्यानचेस्टर युनाइटेडका डेविड डे हेयाको प्रहार रुल्लीले सही डाइभ दिँदै बचाएपछि भिल्लारियल उपाधि जित्न सफल भएको थियो ।
भिल्लारियलको यो क्लब इतिहासमै पहिलो उपाधि हो ।