मैत्रीपूर्ण खेलकाे लागि नेपाली फुटबल टाेली इराकमा
काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोली बुधबार इराकको बर्सा पुगेको छ । नेपालले २९ मे मा इराकको राष्ट्रिय टोलीसँग बर्सा रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालसमेत रहेकाे टाेलीलाई इराक फुटबल एशाेसिएसनले स्वागत गरेकाे थियाे ।
नेपाली टोली मंगलबार राति कतार एयरवेजबाट इराक प्रस्थान गरेकाे हाे ।
२३ सदस्यीय राष्ट्रिय टोलीसहित ३५ सदस्यीय टोली बर्सा पुगेको हो । कुवेतमा हुने कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटमा भाग लिनुअघि मैत्रीपूर्ण खेलका लागि नेपाली टोली इराक पुगेको हो ।
१६ जेठमा नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जाने बताइएको छ । त्यहाँ टोलीले तीनवटा विश्व कप र एसिया कप छनोट खेल खेल्ने तालिका रहेको छ । नेपाली टोलीले २० जेठमा चाइनिज ताइपेई, २५ जेठमा जोर्डन र २८ जेठमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ ।
नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो । अंक तालिको पुछारमा रहेको ताइपेईले अंक जोड्न सकेको छैन । अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ ।