भारतले भन्याे : नेपालकाे घटनाक्रम लोकतान्त्रिक प्रक्रियाबमोजिम सम्बोधन गर्नुपर्ने
एजेन्सी । नेपालको राजनीतिक घटनाक्रम जटि बन्दै गएका बेला छिमेकी मुलुक भारतले मुख खोलेको छ ।
नेपालको राजनीतिक मामिलामा भारतीय हस्तक्षेप जारी रहेको भन्दै आलोचना भइरहेका बेला भारतीय विदेशमन्त्रालयले पछिल्लो घटनाक्रमबारे भारतको धारणा प्रस्ट पारेको छ ।
बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमबारे भारतको धारणा प्रस्ट पारेका हुन् । उनले नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको बताएका छन् ।
‘नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई हामीले हेरिरहेका छौं’, बागचीले भने, ‘यसलाई हामीले नेपालीहरुद्वारा नै उनीहरुको राष्ट्रिय ढाँचा एवं लोकतान्त्रिक प्रक्रियाबमोजिम सम्बोधन गर्नुपर्ने आन्तरिक मामिलाका रुपमा लिएका छौं ।’
भारत नेपालको छिमेकी र मित्र दुबै भएकाले प्रगति, शान्ति, स्थिरता र विकासतर्फको नेपालको यात्रामा समर्थन गर्ने पनि विदेश मन्त्रालयले उल्लेख गरेको छ ।
‘एउटा छिमेकी र मित्रको रुपमा भारतले नेपाल र नेपाली जनतालाई प्रगति, शान्ति, स्थिरता एवं विकासतर्फको उनीहरुको यात्रामा सँधै सहयोग गर्छ’, बागचीले थपे ।