राष्ट्रपतिद्वारा बुद्ध जयन्ती र उभाैली पर्वकाे शुभकामना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिंँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएकी छिन् ।
त्यस्तै राष्ट्रपति भण्डारीले किराँत समुदायको पर्व उभौलीका शुभअवसरमा स्वदेश तथा विदेशका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
“जातीय, भाषिक र सांस्कृतिक बहुलता नेपाली समाजको मौलिक पहिचान हो । यो हाम्रो कमजोरी हैन, बरु शक्ति हो । यस प्रकारका चाडपर्वहरूले विविध जातजाति र समुदायबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन टेवा पुर्याउने विश्वास लिएको छु ”, सन्देशमा भनिएको छ ।