प्रतिनिधिसभा विघटन असंवैधानिक : पूर्वसभामुखहरु
काठमाडौं । पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । प्रतिनिधि सभा विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाले संसद भवन नयाँ बानेश्वरमा मंगलबार बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरूले यस्तो बताएका हुन् ।
उनीहरुले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको दाबी गरे ।
बैठकमा सहभागी पूर्वसभामुख ओनसरी घर्ती मगरले भनिन्- ‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन ।’
‘संविधानमा चावटा विकल्प छन् । प्रतिनिधिसभाको विघटन चारवटा विकल्प असफल भएपछि हुने हो । अहिले त्यस्तो भएको छैन,’ घर्तीले भनिन्, ‘त्यसैले यो सरासर असंबैधानिक र गलत नियतका साथ आएको हो ।’
बैठकमा पूर्वसभामुख घर्तीसँगै कृष्णबहादुर महरा र रामचन्द्र पौडेल उपस्थित थिए भने सुवासचन्द्र नेम्वाङ बैठकमा उपस्थित भएनन् ।