मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली आज इराक जाने

निरन्तर न्यूज
११ जेष्ठ २०७८, मंगलवार ०८:२६

काठमाडौं । फिफा विश्‍वकप छनौटको अभ्यास खेलको रुपमा मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली आज इराकतर्फ प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपाली टोली राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत इराक जान लागेको हो ।

आउँदो शनिवार इराकसँग हुने मैत्रीपूर्ण खेलपछि नेपाली टोली फिफा विश्‍वकप छनौटको खेलका लागि उतैबाट कुवेत जाने छ ।

विश्वकप छनोटका बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ । मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडीको घोषणा गरिसकेका छन् ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की रहेका छन् । यस्तै डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन् ।

मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल वल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान छनोट भएका छन् । फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् ।

विश्वकप छनोटमा नेपालले अहिलेसम्म खेलेका पाँच खेलमध्ये एउटामा जीत निकाल्दा चार खेलमा हार व्यहोरेको छ । खेल्नुपर्ने खेलहरु सकेर नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*