बिपक्षी गठबन्धन रिट दर्ता गरे पश्चात सर्बाेच्च बाहिरिए
काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरु सर्वोच्च अदालत परिसरबाट बाहिरिएका छन् । गठबन्धनका १४६ जना सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दर्ता गरेपछि सर्वोच्च अदालतबाट बाहिरिएका हुन् ।
कांग्रेस नेता रमेश लेखकका अनुसार संसदमा रहेका ५४ प्रतिशत सांसदहरुको हस्ताक्षर रहेको रिटमा तीन मागहरु रहेका छन् । लेखकका अनुसार संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय खारेज गर्न, संसद अधिवेशनको मिति तोक्न र संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको छ ।
शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट दायर गरेका हुन् ।