लेस्टरले हार्दा च्याम्पियन्स लिगमा चेल्सीकाे अग्रता
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा टोटनहाम विजयी भएको छ । टोटनहामले लेस्टर सिटीलाई उसैको मैदानमा ४-२ गोलअन्तरले हराएको हो ।
टोटनहामको जीतमा ग्यारेथ बेलले दुई गोल गरे भने ह्यारी केनले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । लेस्टरका दुवै गोल जेमी भार्डीले गरेका थिए । दुईपटकको अग्रता जोगाउन नसक्दा लेस्टर च्याम्पियन्स लिगमा छनौट हुन सकेन ।
खेलको १८औं मिनेटमा भार्डीले पेनाल्टीमार्फत गोल गर्दै लेस्टरले अग्रता बनाएको थियो । ४१औं मिनेटमा केनले गोल गरेपछि पहिलो हाफमा खेल बराबरीमा आयो ।
५२औं मिनेटमा भार्डीले अर्को पेनाल्टीमा गोल गरेपछि लेस्टर पुनः अगाडि आयो । ७६औं मिनेटमा लेस्टरका गोलरक्षक केस्पर स्माइकलबाट आत्मघाती गोल भएपछि खेल फेरि बराबरीमा आयो ।
८७औं मिनेटमा बेलले गोल गर्दै लेस्टरलाई धक्का दिए । इन्जुरी समयको अन्तिम मिनेटमा बेलले दोस्रो गोल गर्दै लेस्टरलाई युरोपा लिगको बाटो देखाए ।
जीतपछि टोटनहाम ६२ अंकसहित सातौं स्थानमा रहँदै लिग सकाएको छ भने लेस्टर ६६ अंकमा सीमित रहँदै पाँचौं स्थानमा रह्यो ।
लेस्टरको यस हारले चेल्सीलाई भने च्याम्पियन्स लिगमा पुर्याएको छ । चेल्सी एस्टन भिल्लासँग २-१ ले पराजित भएपनि लेस्टर पराजित हुँदा चेल्सी भाग्यमानी साबित भयो ।
भिल्लाको जीतमा बर्टरान्ड ट्राओरे र असान्नवर एल गाजीले १-१ गोल गरेका थिए भने चेल्सीका बेन चिलवेलले सान्त्वना गोल फर्काए ।
हारका बाबजुद चेल्सी ६७ अंकका साथ चौथो स्थानमा रहँदै च्याम्पियनस लिग फुटबलका लागि छनौट भएको छ भने विजयी टोली एस्टन भिल्ला ५५ अंकका साथ ११औं स्थानमा रह्यो ।