स्पेनिस लालिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले उचाल्याे
काठमाडौं । एट्लेटिको मड्रिडले यस सिजनको स्पेनिस लालिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा रियल भालाडोलिडमाथि २-१ को पुनरागमन जीत निकाल्दै एट्लेटिको मड्रिडले लालिगाको उपाधि जितेको हो ।
एट्लेटिकोको जीतमा एन्जेल कोर्रिया र लुइस सुआरेजले १-१ गोल गरे । भालाडोलिडका ओस्कार प्लानोले सुरुवाती गोल गरेका थिए । उनले खेलको १८औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
यस नतिजाले एटलेटिको ३८ खेलमा ८६ अंक जोड्न सफल रहयो । रियल भने ३८ खेलमा ८४ अंक जोड्दै उपविजेतामा सिमित रहयो । बार्सिलोनाले पनि अन्तिम खेल जित हासिल गर्दै तेस्रो स्थानमा ७९ अंक जोड्दै सिजन अन्त्य गर्यो ।
दोस्रो हाफको ५७औं मिनेटमा कोर्रियाले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले यानिक कारास्कोको पासलाई पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गर्दै गोल गरे ।
६६औं मिनेटमा सुआरेजले गोल गर्दै खेलमा एटलेटिकोलाई अग्रता दिलाए । मैदानको मध्यभागबाट एक्लै बल अघि बढाएर सुआरेजले पेनाल्टी क्षेत्रभित्र वान भर्सेस वान स्थितिमा गोल गरेका थिए ।
यस नतिजाले एटलेटिको ३८ खेलमा ८६ अंक जोड्दै उपाधि जित्न सफल रहयो । एट्लेटिकोले पछिल्लोपटक सन् २०१३-१४ को सिजनमा लालिगाको उपाधि जितेको थियो ।
उता रियल मड्रिडले पनि पुनरागमन जीत नै निकालेको भएपनि एट्लेटिको विजयी भएका कारण रियल उपविजेतामै सीमित भयो । भालाडोलिड भने यस हारसँगै लिगबाट रेलिगेसनमा परेको छ ।