जसपाले ठाकुर र महताेसहितका ४ नेतालाई कारवाही गर्ने
काठमाण्डाैँ । जनता समाजवादी पार्टीकाे कार्यकारिणी समितिकाे बैठकले अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
चित्तबुझ्दो जवाफ नआए पार्टीकाे विधान अनुसार कारवाही समेत गर्ने बैठककाे निर्णय छ ।
जसपाकाे संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवसहित कार्यकारिणी समितिकाे बहुमत सदस्य उपस्थित भएकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
कार्यकारिणी समितिको बैठक शनिबार सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा बसेको थियो । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा ३१ जना सदस्य उपस्थित थिए ।
कार्यकारिणी समितिमा जम्मा ५१ सदस्य छन् । बैठकमा महन्थ ताकुर पक्षका सदस्यहरू अनुपस्थित थिए ।
गत जेठ ४ गते नै अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक तय गरेका थिए ।
तर, हिजाे शुक्रबार महन्थ ठाकुरले कोरोनाको कारण देखाउँदै बैठक स्थगित भएको विज्ञप्ति निकालेका थिए । पछिल्लाे समय नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका प्रखर समर्थक बनेका ठाकुरले एकलाैटी तरिकाले उक्त विज्ञप्ति निकालेका थिए ।