राष्ट्रपति र प्रधानमन्त्रीको कदम नेपालको संविधान र लोकतन्त्रमाथिको प्रहार : संविधानसभा सदस्य मञ्च

निरन्तर न्यूज
८ जेष्ठ २०७८, शनिबार १७:४५

काठमाडौं। सभासद फोरम नेपालले संसद विघटन गर्ने राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम नेपालको संविधान र लोकतन्त्रमाथिको गम्भीर प्रहार भएको जनाएको छ । पहिलो र दोस्रो संविधानसभाका सदस्यहरुको साझा फोरमका अध्यक्ष कल्पना धमला र महासचिव हेमराज भण्डारीले शनिबार एक विज्ञप्ति जारी गर्दै उक्त कदमको भर्त्सना गरेका हुन् ।

‘राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलिभगतमा पटकपटक संवैधानिक मूल्य, मान्यता र लोकतान्त्रिक आदर्शमाथि प्रहार गर्नेक्रममा जेठ ९ गते मध्यराति पुनः प्रतिनिधिसभा विघटन गरिएको घटनाले संविधानसभा सदस्य मञ्च, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको लामो, कष्टसाध्य, बलिदानीपूर्ण, त्याग र संघर्षहरुबाट प्राप्त संघीय गणतन्त्र नेपालको संविधानमाथिको यो प्रहार असैह्य र भर्त्सनायोग्य छ ।’

मञ्चले यो कदमविरुद्ध संघर्ष गर्न अपिल पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘झण्डै सात दशक लामो लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन हामी यतिबेला सम्पूर्ण लोकतान्त्रिक, देशभक्त र गणतान्त्रिक शक्तिहरुलाई एकतावद्ध हुँदै प्रधानमन्त्री र राष्ट्रपतिको यो कदम लोकतन्त्र, नेपालको संविधान, मुलुकको सार्वभौमीकता, स्वाधीनता र नेपाली जनताको भावनाविरुद्धको तानाशाही र स्वेच्छाचारी कदम भएकोले यसको विरुद्धमा जनमत निर्माण गर्न, अभियान सञ्चालन गर्न, भन्डाफोर र संघर्ष गर्न हार्दिक अपिल गर्दछौं ।’

सभासद फोरम नेपालको विज्ञप्ति-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*