संसदको हस्ताक्षरकाे मान्यताबारे राष्ट्रपतिलाई ओली र महन्थले लेखे पत्र
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन भन्दै राष्ट्रपतिलाई पत्र पठाएका छन् । यही काम जसपाका एक अध्यक्ष महन्थ ठाकुरले पनि गरेका छन् ।
संसदीय दलको हैसियतमा प्रधानमन्त्री ओली र प्रमुख सचेतक विशाल भट्टराईले हस्ताक्षर गरेर पठाएको पत्रमा २६ जना सांसदलाई आफूहरूले कारबाहीकाे तयारी गरेको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन उल्लेख गरिएको छ ।
एमालेको माधव नेपाल पक्षका केही सांसदले देउवाको नेतृत्वमा सरकार बनाउन भन्दै हस्ताक्षर गरेपछि उनीहरुलाई कारबाही गर्ने भन्दै पत्र पठाएका हुन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पनि देउवालाई समर्थन नगर्ने पार्टीको निर्णय विपरीत गएका १२ जना सांसदको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् ।
केही सांसदले व्यक्तिगत रूपमा पनि आफूहरूको हस्ताक्षर दुरुपयोग भएको भन्दै शीतल निवासमा पत्र पठाइरहेका राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले पुष्टि गरे । राष्ट्रपति कार्यालयमा आइरहेकाे पत्र हेर्दा र दुवै पक्षको दाबी हेर्दा यसलाई टुङ्ग्याउन कठिन भइरहेको उनको प्रतिक्रिया छ ।
तर, सांसदलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयमा भन्दा संसदमा बुझाइने गरिन्छ । संसदको सभामुखले यस्तो सूचना सत्य हो हैन भनेर १५ दिनभित्र भेरिफाई गरेर उनले सूचना निकालेपछि बल्ल शीतल निवासले थाहा पाउने हो ।
तर ओली र महन्थले यससम्बन्धी पत्र सिधै राष्ट्रपतिलाई बुझाएका हुन् । साझापाेष्टबाट ।