प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपति भण्डारीद्वारा केवल २१ घण्टा समय प्रदान

निरन्तर न्यूज
६ जेष्ठ २०७८, बिहीबार २०:४८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको लागि केवल २१ घण्टा समय प्रदान गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाउँदै केवल २१ घण्टा समय दिएकी हुन् । राष्ट्रपति कार्यालयले बिहीबार राति ८ बजे आसपास विज्ञप्ति जारी गर्दै भोलि शुक्रबार जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।

शुक्रबार साँझसम्म वैकल्पिक प्रधानमन्त्रीले बहुमत सदस्यको विश्वास प्राप्त गर्ने आधार पेश गर्नुपर्नेछ । यो धारा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा आकर्षित हुन्छ ।

दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत पाप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था उपधारा ५ मा छ ।

राष्ट्रपति कार्यालयले विपक्षी दलहरुलाई गृहकार्यको अवसर पनि नदिएर प्रतिनिधिसभा संवैधानिकरुपमै भंग गर्न आधार प्रस्तुत गरेको विपक्षी दलका नेताहरुले आरोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*