बादललाई मत नदिने नेताविरुद्ध एमाले स्थायी समिति उग्र (बिज्ञप्तीसहित)
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार बसेको बैठकले पार्टीको निर्देशन विपरित पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने कार्यको भत्सर्ना गरेको छ।
बैठकपछि जारी विज्ञप्तिमा पार्टीको निर्णय अवज्ञा गर्ने कार्यको भर्त्सना गर्ने निर्णय गरेको उल्लेख छ । प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैठकले आज वागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देखापरेका पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भर्त्सना गरेको छ ।’
माओवादी छाडेर एमाले छिरेका गृहमन्त्री रामबहादुर थापा बादल एमालेबाट उम्मेदवार छन् भने वरिष्ठ नेता माधव नेपाल पक्षका नेता डा. खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका छन् । बागमती प्रदेशमा भएको राष्ट्रियसभाको निर्वाचनमा दुवैजना उम्मेदवार एमालेबाट छन् ।
एमालेको विवाद मिलाउन कार्यदल बनिसकेपछि पनि पार्टीको निर्देशन नमान्नु सामान्य विषय नभएको एमाले प्रवक्ता ज्ञवालीले प्रतिक्रिया दिए । ‘कार्यदल बनिसकेपछि र अघिका कुरा एउटै हिसाबले हेर्न हुन्न। यो गम्भीर कुरा हो,’ उनले भने। एमालेको बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले कोभिड-१९ नियन्त्रणबारे पनि छलफल गरेको थियो।
बैठकले कोभिड १९ विरुद्धको लडाई जित्न तीनै तहको सरकारलाई एकीकृत रुपमा परिचालन गर्न सुझाव दिएको छ । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले कोभिड नियन्त्रण तथा रोकथामका लागि तीनवटा सुझाव आएको बताए । ‘भ्याक्सिनलगायतका स्वास्थ्य आवश्यक सामग्रीमा अन्तर्राष्ट्रिय सहायता परिचालन र आयातमा पहल गर्न र कोभिड नियन्त्रणमा तीनै तहका सरकार एकीकृत ढंगले परिचालन गर्नुपर्ने सुझाव आएको छ’, ज्ञवालीको भनाइ छ ।
प्रेस वक्तव्य
नेकपा (एमाले) स्थायी कमिटीको पाँचौं बैठक आज ६ जेठ २०७८ मा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा बस्यो । बैठकले देहायका निर्णयहरु गरेको छः
१. बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सांसद कमरेड योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँको निधनबाट तराई–मधेसले एकजना सक्रिय र सम्भावनायुक्त नेता गुमाएको निष्कर्षका साथ बैठकले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
२. अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीले कोभिड महामारीको बढ्दो प्रकोप र यसका विरुद्ध सरकारले गरिरहेका प्रयासहरुका सम्बन्धमा बैठकलाई जानकारी गराउनु भयो । बैठकले सरकारका प्रयासहरु सकारात्मक रहेको निष्कर्षका साथ कोभिड महामारीका विरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधी र स्वास्थ्य सामग्रीहरुको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्नका लागि आवश्यक कानुनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ ।
३. बैठकले आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देखापरेका पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ ।