प्रधानमन्त्रीले आचारसंहिता मिचेर धम्की दिनु खेदजनक छ : प्रचण्ड सचिवालयको आपत्ति
काठमाडाैँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता मिचेर धम्की दिनु खेदजनक भएकाे बताएकाे छ। आज साँझ एक विज्ञप्ती जारी गर्दै सचिवालयले प्रधानमन्त्री ओलीलाई अमूक उम्मेदवारलाई मतदान गर्न अपिल गरेकाले कारवाही गर्न माग समेत गरेको छ।
अध्यक्ष प्रचण्डको निजी सचिवालयका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ले प्रेस वक्तव्य जारी गर्दै जेठ ३ गतेदेखि मौन अवधि शुरू भइसकेको अवस्थामा बुधवार मतदानका लागि अपिल गर्नु आचारसंहिता विपरीत भएको जनाएको छ। ‘जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरू भइसकेको सन्दर्भमा गरिएको यसप्रकारको अपिल निर्वाचन आचारसंहिता विपरित भएको स्वयं निर्वाचन आयोगले सचेत गराइसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री ओलीले बुधवार अपिल जारी गर्दै नेकपा एमाले उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आग्रह गरेका थिए।
महराद्वारा विज्ञप्तिमा अगाडि उल्लेख छ, ‘केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री समेत हुनुहुन्छ । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो । यस विपरीत सरकार प्रमुखले नै अमूक उम्मेदवारलाई विजयी गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ।’
यस्ताे छ अध्यक्ष प्रचण्डको निजी सचिवालयले जारी गरेकाे प्रेस वक्तव्य :
प्रेस वक्तव्य आज मिति २०७८ जेष्ठ ५ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष के.पी. शर्मा ओलीद्वारा भोलि हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशका एमाले उम्मेद्वार रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई गर्नुभएको अपिलले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जेष्ठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भइसकेको सन्दर्भमा गरिएको यसप्रकारको अपिल निर्वाचन आचार संहिता विपरित भएको स्वयम् निर्वाचन आयोगले सचेत गराइसकेको छ ।
के.पी. शर्मा ओली नेकपा (एमाले)का अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री समेत हुनुहुन्छ । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो । यस विपरित सरकार प्रमुखले नै अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ ।
यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारवाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु । निर्वाचन आयोग, राजनैतिक पार्टीहरु, निर्वाचन पर्यवेक्षकहरु, नागरिक समाज, पत्रकार तथा आम जनसमुदायमा यस प्रकारको अलोकतान्त्रिक हर्कतप्रति चनाखो हुँदै लोकतान्त्रिक मूल्य मान्यताको रक्षाको निम्ति एकजुट हुन अपिल गर्दछु ।
५ जेष्ठ, २०७८
जोखबहादुर महरा ‘प्रताप’
प्रमुख स्वकीय सचिव
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालय