देश काेराेना महामारी र अन्त्यहीन राजनीतिमा फसेकाे भन्दै बाबुरामकाे चिन्ता
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देश अन्त्यहीन राजनीतिक गतिरोधमा फसेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समय राष्ट्रिय एकतामार्फत् राष्ट्रिय सरकार बनाएर कोभिड लगायतका समस्याविरुद्ध एकीकृतरुपमा जुध्न आवश्यक रहेको बताउँदै आएका भट्टराईले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
राष्ट्रिय सरकार गठनको प्रस्ताव राखेपछि आलोचना र विभिन्न हल्लाहरुको केन्द्रमा रहेका भट्टराईलाई केपी ओलीका विश्वास पात्र महेश बस्नेतले ‘बाबुरामले बालुवाटार पुगेर प्रधानमन्त्री बनाइदिन हारगुहार गरेको’ बताए पछि उनी चर्चामा आएका छन् ।
भट्टराईले देशको संकट हल गर्न सबै दलको सहभागिता र वर्तमान र पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका थिए । उनले दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर साझा न्यूनतम कार्यक्रम बनाएर कोभिड नियन्त्रण, शान्ति सम्झौताका बाँकी रहेका काम गर्ने, आर्थिक राहत लगायतका कार्यक्रम ल्याउने र एक वर्षभित्र चुनाव सम्पन्न गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
मंगलबार भट्टराईले एक ट्वीट सन्देशमा लेखेका छन्, ‘देश गम्भीर संकटमा फस्दैछ । एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध ! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न वैकल्पिक सरकार बन्न ।’
उनले अगाडि प्रश्न गरेका छन्, ‘संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्स . बै पार्टी/नेता निरीह । सर्पको मुखका भ्यागुता ! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?’