वेस्ट ब्रोममाथि लिभरपुलकाे जीत : इंग्लिस प्रिमियर लिग
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले रोमाञ्चक जीत हासिल गरेको छ । लिभरपुलले वेस्ट ब्रोमलाई उसैको मैदानमा २-१ गोलअन्तरले हराएको हो ।
लिभरपुलको जीतमा मोहमद सालाह र गोलरक्षक एलिसन बेकरले गोल गरेका थिए । वेस्ट ब्रोमका रोबसन कानुले एक गोल गरेका थिए ।
खेलमा सुरुवाती अग्रता भने वेस्ट ब्रोमले लिएको थियो । खेलको १५औं मिनेटमा रोबसन कानुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा सालाहले गोल फर्काउँदै पहिलो हाफमा खेल १-१ को बराबरीमा राखे ।
दोस्रो हाफभरि कुनै पनि टोलीबाट गोल निस्कन सकिरहेको थिएन र खेल बराबरीमै सकिने निश्चित जस्तै भइसकेको अवस्थामा इन्जुरी समयको पाँचौं मिनेटमा गोलरक्षक एलिसनले दुर्लभ गोल गर्दै लिभरपुललाई ३ अंक दिलाए ।
अन्तिम समयमा पाएको कर्नरका बेला एलिसन पनि डिबक्समा आएका थिए । ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको कर्नरमा एलिसनले हेडिङमार्फत गोल गरेका थिए ।
जीतसँगै ३६ खेलबाट ६३ अंक भएको लिभरपुल पाँचौं स्थानमा रहेको छ र शीर्ष चारमा परेर च्याम्पियन्स लिगमा छनौट हुने सम्भावनालाई कायमै राखेको छ । तेस्रो स्थानको लेस्टरको ६६ तथा चौथो स्थानको चेल्सीको ६४ अंक छ ।
पराजित वेस्ट ब्रोम २६ अंकसहित १९औं स्थानमा छ । वेस्टब्रोम रेलिगेसनमा पर्ने पक्का भइसकेको छ ।