कोभिडको रोकथाम तथा नियन्त्रणकाे उपायबारे अन्तरक्रियामा जुट्दै काँग्रेस
काठमाण्डाैँ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका उपायबारे नेपाली काँग्रेसले आज डिजिटलरुपमा पार्टीका तल्ला तहसम्म अन्तरक्रिया गर्ने भएको छ ।
सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र काँग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया हुन लागेको हो । पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशमा अन्तरक्रिया हुन लागेको नेपाली काँग्रेसले जनाएको छ ।
अन्तरक्रियामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको पनि सहभागिता रहेने काँग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
अन्तरक्रियामा प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, स्थानीय तहका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहनेछ ।
आजको अन्तरक्रिया सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हुनेछ भने सोमबार गण्डकी प्रदेश र वाग्मती प्रदेशमा हुने बताईएको छ । यस्तै मंगलबार प्रदेश २ र प्रदेश १ मा आयोजना गरिने सचिव केसीले जानकारी दिए ।