एमालेकाे दुवै पक्ष सम्मिलित बैठकमा के के भयो ?
काठमाडौं । नेकपा एमालेको दुई पक्षबीचको वार्ता सकिएको छ । सिंहदरबारमा शुक्रबार बसेको दुवै पक्ष सहभागी वार्ताले नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति गरेको छ ।
बैठकले कार्यदललाई पूर्णता दिन अध्यक्ष केपी ओली र माधव नेपाललाई जिम्मेवारी दिएको बैठकमा नेता भीम रावलले जानकारी दिए । अब अर्को बैठक कार्यदललाई पूर्णता दिएपछि बस्नेछ ।
‘२०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरु छलफल अघि बढाउने कुरा भयो । त्यसका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएको छ । फेरि तुरुन्तै बसेर वार्ता हुन्छ’ रावलले भने ।
बैठक सकारात्मक र सौहार्दपूर्ण रुपमा भएको बैठकमा सहभागी अर्का नेताले जानकारी दिए । झण्डै तीन घण्टा सिंहदरबारमा बसेको बैठकपछि नेताहरु प्रसन्न मुद्रामा निस्किएका थिए ।
यसअघि बैठकहरु बालुवाटारमा बस्ने गरे पनि माधव नेपालको असहमतिका कारण बैठक सिंहदरबारमा बसेको एक नेताले जानकारी दिए । वार्तामा पूर्वमाओवादीका नेता गृहमन्त्री रामबहादुर ‘थापा’ बादल संस्थापन पक्षबाट सहभागी थिए ।
वार्तामा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडैल र लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेल सहभागी थिए । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल वार्तामा बसेका थिए ।