कुर्सी जोगाउन आफ्नो निर्णयबाट ओली ब्याक, कार्यदल भन्दै माधव पक्ष कमब्याक

निरन्तर न्यूज
३१ बैशाख २०७८, शुक्रबार ०९:२१

काठमाडौं । कोरोना महामारीको बीच नेपालमा अस्वस्थ राजनीतिक खेल चल्यो । यसबीचमा सरकार र राजनीतिक दलहरुको ध्यान सत्ताको वरपर मात्र घुमिरह्यो ।

सर्वोच्च अदालतले दुई तिहाई बहुमतनजिक रहेको नेकपा फुटाइदिएपछि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्रको फरक विचार राख्ने समूहमाथि कारबाही गरे ।

आफ्नो समूहका नेताहरु कारबाहीमा परेपछि एमालेभित्र धेरै लामो विवादको श्रृंखलाहरु चले । यसबीचमा नेपाल समूहका धेरै नेताहरुले कारबाही फिर्ता गर्न आग्रह गरे । तर, ओली टस न मसको अवस्थामा देखिए ।

अन्ततः प्रधानमन्त्रीको पद जोगाउन ओली पछाडि हट्न बाध्य भएका छन् । यसबाट एमालेमा केही समय विवाद मत्थर हुने देखिएको छ ।

कुर्सी जोगाउन पछाडि हट्ने प्रधानमन्त्री ओलीले यसअघि नै समस्या नझिकेको भए देशमा महामारीको समयमा राजनीतिक विवाद नहुने र दल र सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित हुनेथियो । यसबाट अक्सिजन र उपचार नपाएर मरेका नेपालीहरुले आफ्नो जीवन गुमाउनु पर्दैनथ्यो कि भन्ने प्रश्न जन्मिएको छ ।

ओलीले आफैं कारबाही गरे, कुर्सी सुरक्षित होउन्जेल अहंकार प्रदर्शन गरे । अन्ततः कुर्सी गुम्ने भएपछि पछि हटे । तर मुलुकले यसबीचमा धेरै गुमाएको छ ।

अहिलेसम्म विद्यमान एमाले विवाद अन्त्यका लागि कार्यदल गठन भएको छ । ९ सदस्यीय कार्यदलमा संस्थापनबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ सदस्य रहेका छन् ।

नेपाल–खनाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहेका छन् । यो कार्यदलमा दुई सदस्य पछि थप हुनेछ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बिहीबार चार घण्टा भएको छलफलमा कार्यदल बनाउने सहमति भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*