तेश्राे पटक प्रधानमन्त्री नियुक्त भएका ओलीको आज शपथग्रहण

निरन्तर न्यूज
३१ बैशाख २०७८, शुक्रबार ०९:१०

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको शपथग्रहण कार्यक्रम दिउँसाे २:३० बजे हुने बताइएकाे छ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदमा विश्‍वासको मत पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरेकी थिइन् ।

यद्यपि वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भएपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठुलो दललाई सरकार गठनको अवसर दिएकी हुन् ।

प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ, नभए पुनः अर्को प्रक्रियाबाट सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*