स्वास्थ्य र राजनीति संकट हल गर्न बाबुरामको नयाँ प्रस्ताव
काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा विद्यमान स्वास्थ्य एवम् राजनीतिक संकट समाधानका लागि नयाँ सुत्र प्रस्तुत गरेका छन् ।
उनले अहिले पक्ष विपक्षमा बाँडिनेभन्दा संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागितामा नयाँ सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । उक्त सरकारमा सबै पूर्वप्रधानमन्त्रीहरु र वर्तमान प्रधानमन्त्री सहभागी हुन नहुने उनको बुझाई छ । उक्त सरकार राष्ट्रिय सहमतिको सरकार हुनुपर्ने तर्क उनले गरेका छन् ।
भट्टराईले सबै दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरु रहेको निर्देशक समिति बनाउनुपर्ने र त्यसले देशमा विद्यमान संकट समाधानका लागि साझा कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् । उक्त निर्देशक समितिले साझा न्यूनतम् कार्यक्रमहरु कोभिड नियन्त्रण, शान्ति तथा मेलमिलाप/मुद्दा, संविधान संशोधन र आर्थिक राहत लगायतका कार्यक्रम लागू गर्नुपर्ने प्रस्तावसँगै आगामी एक वर्षभित्र निर्वाचनमा जानुपर्ने बताएका छन् ।