कोरोना संकट सम्बोधन गर्न तत्काल सर्वपक्षीय समिति बनाउ : सर्वाेच्च अदालत
काठमाडौँ । सर्वोच्च अदालतले कोरोना महामारीका कारण उत्पन्न प्रतिकूल परिस्थितीबारे सम्बोधन गर्न सर्वपक्षीय समिति गठन गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
कोरोना महामारीका कारण उत्पन्न परिस्थितीले नागरिकहरुले आधारभूत सेवा पनि नपाएको भनी दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।
कोरोना संक्रमणको पहिलो लहरको बेलादेखि सर्वपक्षीय समिति बनाउन प्रतिपक्षी दलहरुले माग राख्दै आए पनि प्रधानमन्त्री केपी ओलीले सुनुवाई गरिरहेका थिएनन् । यस्तो समिति गठन गरेर उपचारमा कसैलाई पनि विमुख नगर्नेगरी काम गर्न सर्वोच्चले आदेश दिएको छ ।
‘सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व समेत हुने गरी एउटा कार्यसमिति समेत निर्माण गरी उल्लेखित समस्याको समाधान प्रभावकारी ढंगले गर्नु गराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ,’ अन्तरिम आदेशमा भनिएको छ ।
सर्वोच्चमा दर्ता भएको रिट निवेदनमा औषधि र अक्सिजनको आपूर्तिमा समस्या भएको, स्वास्थ्य सेवाका लागि जनशक्ति आपूर्तिको समस्या भएको भन्दै त्यसलाई सम्बोधनका लागि आवश्यक आदेश माग गरिएको थियो ।