लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

निरन्तर न्यूज
२६ बैशाख २०७८, आईतवार १६:३२

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ । यो मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको दोस्रो अविश्वासको प्रस्ताव हो ।

अविश्वासको प्रस्तावमा माओवादी केन्द्र, नेपाल कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनमा आवद्ध सांसदहरुले हस्ताक्षर गरेका छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्या ४० जना रहेको छ । नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गर्दा यो संख्या ४० पुगेको हो ।
प्रस्तावमा नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएको हो ।

प्रस्तावमा प्रदेशसभाको विशेष अधिवेशन मागका लागि समावेदनसमेत गरिएको छ । मुख्यमन्त्री पोखरेलले ठूलो दलका रुपमा संविधानको धारा १६८ को १ अनुसार गठन गरेको सरकार वैध नभएको उनीहरुको दावी छ । यसको सट्टामा संविधानको धारा १६८ को २ बमोजिम चारदलीय गठबन्धनको सरकार बनाउनुपर्ने उनीहरुको माग छ ।

यसअघि वैशाख ६ मा पनि गठबन्धनका ४१ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वासको प्रस्तावसहित विशेष अधिवेशनका लागि समावेदन गरेका थिए । त्यसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ मा विशेष अधिवेशन बोलाएका थिए । विशेष अधिवेशनको कार्यसूची आइसकेपछि त्यसैदिन मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि विशेष अधिवेशन अन्त्य भएको थियो ।

प्रस्तावमा प्रदेशसभाको विशेष अधिवेशन मागका लागि समावेदनसमेत गरिएको छ । यसअघि रातारात मुख्यमन्त्री पोखरेलले ठूलो दलका रुपमा संविधानको धारा १६८ को १ अनुसार मुख्यमन्त्री घोषणा गर्दै सपथ लिएका थिए । मुख्यमन्त्री पोखरेलको उक्त कदमलाई असंवैधानिक र अवैध घोषणा गर्दै आएका विपक्षी गठनबन्धले संविधानको धारा १६८ को २ बमोजिम चारदलीय गठबन्धनको सरकार बनाउनुपर्ने माग अघि सार्दै आएको छ ।

एमालेसम्म हाल ३८ जना सांसद रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*