संवैधानिक परिषद्काे बैठक बालुवाटारमा शुरु

निरन्तर न्यूज
२६ बैशाख २०७८, आईतवार १०:३६

काठमाडाैं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको भन्दै जबरा समेत सहभागी भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

लामो समयपछि परिषद्को बैठक बसेको हो । गत ३० मंसिरयता परिषद्को बैठक बसेको थिएन ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएका छैनन् । शनिबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने बताएका छन् । त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठकमा सहभागी नहुने जनाइसकेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई परिषदको बैठकमा नजान विपक्षी दलहरुले आग्रह गरेका थिए । उनी सहभागी हुँदा परिषद् बैठकमा बहुमत पुग्ने अवस्था छ । नियुक्तिको सिफारिस सम्बन्धी निर्णय प्रधानन्यायाधीशको उपस्थिति र अनुपस्थितिमा भर पर्ने अवस्थामा उनी सहभागी भएका हुन् ।

सापकोटा मंसिर ३० को बैठकमा पनि सहभागी भएका थिएनन् । ३० मंसिरमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा सहभागी बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले २१ वैशाखमा मन्त्रिपरिषद्को सिफारिसमा दोस्रोपटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०७८ जारी गरेकी थिईन् । अध्यादेश जारी भएपछि परिषद्को बैठक बसेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*