२४ घण्टे समयसिमा ताेकेर नेपाल–खनाल समूहका २२ सांसदले राजीनामा दिँदै

निरन्तर न्यूज
२६ बैशाख २०७८, आईतवार ०७:३१

काठमाण्डाैँ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २२ सांसदले पार्टीबाट राजीनामा दिने तयारी गरेका छन् ।

उनीहरुले २४ घण्टे समयसिमा ताेकिएकाे बताइएकाे छ ।

उनीहरुको राजीनामा आएमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाउने छन् । उनले अल्पमतको सरकार पनि बनाउन पाउने छैनन् । ओलीलाई पार्टीभित्रको विश्वास जोगाउने अन्तिम मौका आज (आइतबार) मात्रै छ । सोमबार संसद्मा विश्वासको मतमाथि छलफल हुँदै छ ।

ओलीसँग नेपाल र खनाल समूहको वार्ता पटक–पटक भए पनि कुनै निस्कर्ष निस्कन नसक्दा सांसदले राजीनामाको तयारी गरेका हुन् । राजनीनामा आएमा ओलीको विकल्पमा नयाँ सरकार बन्ने बाटो पनि खुला हुने छ ।

एमाले सांसदको राजीनामा रोकियो भने पनि जसपा (जनता समाजवादी पार्टी) को पर्याप्त समर्थन नभएकाले ओलीलाई बहुमत जुटाउन निक्कै कठिन हुने देखिएको छ । नेपाल समूहमा करिब ३४ सांसद छन् ।
पार्टी एकता जोगाउन अन्तिम घडीमा हदैसम्मको प्रयास गर्ने र अन्यथा सामूहिक राजीनामा दिने निर्णय भएको सांसद झपट रावलले बताए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाबाट चार सांसद बर्खास्त भएपछि सांसदको सङ्ख्या दुई सय ७१ मा झरेको छ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत साबित गर्न एक सय २५ सांसद आवश्यक पर्नेछ । तर, त्यो अवस्थामा एमालेमा ९९ सांसद मात्र हुनेछन् । बहुमतका लागि थप २६ सांसद आवश्यक पर्नेछन् । अहिलेसम्मको राजनीतिक परिदृश्यमा ओलीले पार्टीबाहिरबाट २६ सांसद जुटाउन सम्भव नै छैन ।

३२ सदस्य रहेको जसपाको बहुमत ओलीको विपक्षमा रहेको बताइएको छ । महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भने ओलीप्रति सहानुभूति राखेपनि महत्ताे पछिल्लाे समयमा ठाकुरसँग झस्किएका छन् ।

ठाकुर- महत्ताेसँग एक भएकाे  अवस्थामा १४ सांसद रहेको भनिएपनि हाल त्यति सँख्या पनि नरहेकाे पार्टी स्रोत बताउँछ । जसपाको ठाकुर महतो पक्षले समर्थन गरे पनि ओलीको पक्षमा एक सय १३ सांसद मात्रै पुग्छन् । त्यस्तै, नेमकिपा र राप्रपाले समर्थन गर्दा पनि ओलीको पक्षमा एक सय १५ मात्र पुग्छ । उनका लागि १० सांसद अझै अपुग हुने देखिएको छ ।

विपक्षीलाई भने आवश्यक सांसद जुटाउन कुनै गाह्रो नहुने देखिएको छ । कांग्रेसका ६३, नेकपा (माओवादी केन्द्र)का ४८ र जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका करि १८ सांसद, जनमोर्चा एक र स्वतन्त्र एकको समर्थनमा देउवाले कम्तीमा एक सय ३१ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्न सक्ने आंकलन गरिएको छ । उपेन्द्र यादव समूहमा सांसदको संख्या अझ बढ्ने सम्भावना रहेको स्रोतले बतायो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*