मन्त्रिपरिषद्को बैठक सकियाे, के के निर्णय भए ?
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्रीले शनिबार साँझको लागि सरकारी निवास बालुवाटारमा बोलाएको बैठक भर्खरै सकिएको छ ।
बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । अस्पतालको नयाँ भवनलाई सुरुवातमा ५ सय शय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘आज बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको छ, त्यो ५०० शय्याबाट सुरु हुन्छ । पछि विस्तार हुन्छ । त्यसले कोभिडविरुद्धको लडाईंमा देशभरिकै अस्पतालहरुको कमान्ड पनि गर्छ ।’
बैठकले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय पनि गरेको छ ।
कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
कोरोना रोकथाममा सरकारले अहिलेसम्म गरेका प्रयासहरूको विश्लेषण गर्दै थप प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको उनले जानकारी दिए । मन्त्री त्रिपाठीले भने, ‘कोरोना रोकथाममा सबै युद्धस्तरमा लाग्ने भन्ने निर्णय भएको छ । त्यसमा अस्पतालहरूको व्यवस्थापनदेखि अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्थापन गर्ने तथा महामारीका विरुद्धमा लड्न सबै मन्त्रालयको भूमिकाको आवश्यकतामाथि समिक्षा भएको छ ।’