संसद सचिवालयका १९ सांसद सहित १६० जनामा कोरोना संक्रमण
काठमाडौं । संसद सचिवालयमा कार्यरत १ सय ४१ कर्मचारीसहित १९ जना सांसदमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । संसद सचिवालयले गराएको कोभिड १९ परीक्षणमा १ सय ६० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
सचिवालयले वैशाख २२ देखि २४ गतेसम्म १ हजार २ सय ३५ जनाको परीक्षण गराएकोमा संसद सचिवालयका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, पत्रकारलगायत १ सय ४१ जनामा कोरोना संक्रमण भेटिएको हो ।
त्यस्तै, राष्ट्रियसभाका एक जनासहित १९ जना सांसदमा पनि कोरोना संक्रमण देखिएको छ । योसँगै अन्य ८ जना सांसदहरु पनि संक्रमित भएका छन् ।
वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिन लागेकोले संसद सचिवालयले कोरोना परीक्षण गराएको हो । झण्डै दुई दर्जन सांसद र अधिकांश कर्मचारी संक्रमित देखिएपछि वैशाख २७ गतेको कार्यक्रम प्रभावित हुनसक्ने बताइएको छ । साझापाेष्टबाट ।