अध्यादेशमार्फत् बलमिच्याइँ नगर्न ओलीलाई नेपालको चेतावनी
काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपालले गलत काम नगर्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् । नेता नेपालले गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न चेतावनी दिएका हुन् ।
शनिबार बिहान फेसबुक सन्देशमार्फत् नेता नेपालले अध्यादेशमार्फत् बलमिच्याइँ नगर्न चेतावनी दिए। उनले अहिले मुलुकको ध्यान कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्ने पनि औंल्याएका छन्।
उनले लेखेका छन्, ‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । ’
मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्ने नेता नेपालको तर्क छ । ‘अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्छु,’ उनले भनेका छन् ।
https://www.facebook.com/madhavnepaluml/posts/1717738418412606