बागमती प्रदेश राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा गृहमन्त्री, देवकाेटा र तामाङकाे मनाेनयन

निरन्तर न्यूज
२४ बैशाख २०७८, शुक्रबार १४:०२

हेटाैँडा । नेकपा एमालेका नेता तथा संघीयताविद् डा. खिमलाल देवकोटाले बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ताका लागि काँग्रेस, माओवादी तथा माधव नेपाल पक्षका नेताहरुसहित हेटौंडा -५ मा रहेको बागमती प्रदेश निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर देवकोटाको मनोनयन दर्ता गराएका हुन्।

देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन्।

मनोनयन दर्ताका लागि  कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, पूर्व मन्त्री पुरूषोतम पौडेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, सन्तबहादुर प्रजा लगायतको टोली देवकोटासँगै बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेका थिए।

त्यसैगरि गृहमन्त्री राम बहादुर थापाले निर्वाचन कार्यालयमा पुगेर आफ्नाे उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

मनोनयन दर्ताका लागि बागमती प्रदेश मन्त्रिमण्डलको टोली र नेकपा एमाले नेता सहितको टोली बादलसँगै बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेका थिए।

बादलको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेकी छिन्।

त्यस्तै नेपाल मजदुर किसान पार्टीकाे तर्फबाट कृष्ण बहादुर तामाङले पनि मनोनयन दर्ता गराएका छन् । तामाङको उम्मेदवारीको प्रस्तावकमा सांसद सुरेन्द्रराज गोसाई र समर्थकमा सांसद सिर्जना सइजु रहेका छन।

हालसम्म मनाेनयन दर्ता गराएकाहरुकाे चुनाव चिन्हमा गृहमन्त्री थापाकाे सुर्य र तामाङकाे मादल तथा देवकाेटाकाे कलम (माग गरिएकाे) रहेकाे छ । मनाेनयन दर्ताकाे धराैटी रकम १० हजार रुपैया रहेकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) ले संयुक्त गठबन्धनका साझा उम्मेदवारकाे रुपमा डाक्टर खिमलाल देवकोटालाई सहयाेग गर्ने बुझिएकाे छ भने नेकपा एमालेबाट गृहमन्त्री बादल रहेका छन्ले । नेमकिपाबाट तामाङ रहेका छन् ।

बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उक्त पदको लागि आगामी जेठ ६ गते हेटौंडा-४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालकाे प्राङ्गणमा मतदान हुनेछ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*