गगन थापाले प्रधानमन्त्रीलाई भने, कृपया अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्

निरन्तर न्यूज
१८ बैशाख २०७८, शनिबार ११:१०

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लन आग्रह गरेका छन् ।

कोरोना संक्रमणको भयावह अवस्था बनेपछि शनिबार सामाजिक सञ्जालमार्फत् एक सन्देश शेयर गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन,’ उनले लेखेका छन्, ‘सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ । तर प्रधानमन्त्रीज्यू यो लडाइमा ‘हामी सक्दैनौँ´ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ! आपत्तिजनक छ !’

स्वास्थ्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालमा विद्यमान स्वास्थ्य प्रणालीले नधान्ने अवस्थामा कोरोना महामारी पुगेको बताएपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘कठिन छ, तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ,’ उनले भनेका छन्, ‘त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ ।’

थापाले प्रधानमन्त्री अकर्मण्यता र अहंकारमा रहेको जिकिर छ । ‘प्रधानमन्त्रीज्यू,हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्,’ उनले लेखेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*