भारतमा एकै दिन थपिए चार लाखभन्दा बढी काेराेना संक्रमित
काठमाण्डाैँ । नेपालसँग खुला सीमा जोडिएको छिमेकी मुलुक भारत कोरोना भाइरस सङ्क्रमणको महासङ्कटमा फसेको छ ।
केही दिनयता भारतमा दैनिक थपिने कोरोना सङ्क्रमितको सङ्ख्या उच्च छ । नयाँ सङ्क्रमित थपिने क्रम दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा चार लाख दुई हजार एक सय ११ जना नयाँ बिरामी थपिए । यति धेरै सङ्क्रमित भारतमा फेला परेको पहिलो पटक हो ।
भारतमा २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको सङ्ख्या अन्य मुलुकमा भेटिएका नयाँ बिरामीको भन्दा अत्याधिक धेरै हो । कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक भारतमा अहिलेसम्म सङ्क्रमित सङ्ख्या एक करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ ।
सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड ५६ लाख ७३ हजार तीन जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ३२ लाख ७२ हजार दुई सय ५६ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।
भारतमा २४ घण्टाभित्र तीन हजार पाँच सय २२ जना कोरोना सङ्क्रमितको मृत्यु भयो । यति धेरै सङ्क्रमितको भारतमा मृत्यु भएको पनि पहिलो पटक । विश्वमा दैनिक कोरोनाका कारण मृत्यु हुने भारतीयको सङ्ख्या अन्य मुलुकको भन्दा धेरै छ । भारतमा अहिलेसम्म दुई लाख ११ हजार आठ सय ३५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।
भारत पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणका कारण नराम्ररी प्रभावित बनिरहँदा त्यसको प्रत्यक्ष असर भने खुला सीमा जोडिएको नेपालमा परेको छ । नेपालमा पनि दैनिक थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ ।
विश्वकै ध्यान खिच्ने गरी कोरोना तीव्र रुपमा फैलिइरहँदा भारत सङ्क्रमणको दलदलमा फसेको हो । अरु मुलुकमा दैनिक ५० हजार हाराहारीमा सङ्क्रमित भेटिँदा भारतमा चार लाखभन्दा बढी भेटिन थालेका छन् । केही दिनयता अनियन्त्रित रुपमा कोरोना फैलिइरहँदा विश्व समुदायको नजर भारततिर सोझिन थालेको छ ।
केही मुलुकले कोरोनाको कठिन परिस्थितिसँग जुधिरहेको भारतलाई सहयोग गर्न थालेका छन् । कतिपयले सहयोग गर्न विश्व समुदायलाई आह्वान पनि गरिहेका छन् । नियन्त्रणका लागि गरिएका विभिन्न प्रयासहरु सफल हुन नसक्दा भारतलाई कोरोनाले गाँज्दै लगेको हो । भारत आफैले पनि कोरोनाविरुद्धको खोप उत्पादन गरेर प्रदान गरिरहेको छ । नेपालसहित विभिन्न मुलुकलाई खोप सहयोग गरिरहेको भारत अहिले आफै कोरोनाको भयावह र सङ्कटग्रस्त अवस्थाबाट गुज्रिएको छ ।
सङ्क्रमण फैलावटको अवस्था कहालीलाग्दो बनेर गएको छ । भारतका स्वास्थ्य संस्थामा उपचार गराउने ठाउँको अभाव हुन थालेको छ । कोरोना सङ्क्रमितलाई अति नै आवश्यक पर्ने अक्सिजनाको चरम अभाव भएको छ । मृतक सङ्ख्या धेरै हुँदा शवको अन्त्येष्टि गर्न दाहसंस्कारस्थलको पनि अभाव हुन थालेको छ ।
कोरोनाका कारण मृत्यु भएमा शव व्यवस्थापन स्वास्थ्य मापदण्डको पालना गरेर र सावधानी अपनाएर गर्नुपर्ने भएकाले पनि झन् सङ्कट र तनाव उत्पन्न भएको हो । खुला सीमाका कारण जथाभावी र अवैध रुपमा हुने आवतजावतले नेपाल भारतमा फैलिएको कोरोनाको उच्च जोखिममा परेको हो ।
नेपालमा कोरोनाको दोस्रो लहर सुरु हुँदा त्यसको मुख्य कारण भारतसँगको खुला सीमालाई मानिएको छ । भारतबाट भइरहेको अनियन्त्रित आवतजावतका कारण नेपालमा कोरोना फैलिएको आशङ्का छ ।
सर्वसाधारण आफैले कुरा बुझेर सावधानी अपनाउनुपर्ने बेलामा भारततिरको आवतजावत रोकिएको छैन । सीमा क्षेत्रमा खटिएका सीमित सङ्ख्याका सुरक्षाकर्मीले अवैध आवतजावत गर्ने सबैलाई नियन्त्रण गर्न सकिरहेका छैनन् । उचित उपाय अपनाउन नसक्ने हो भने भारतमा फैलिएको सङ्क्रमणका कारण नेपालको पनि अवस्था निक्कै भयावह बन्नसक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् ।
यस्तो बेला सावधानी अपनाएर भारतसँगको सिधा सम्पर्क केही समयका लागि टुटाउँदा राम्रो हुने उनीहरुको सुझाव छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि निको हुने हो वा मृत्युवरण नै गर्नुपर्ने अवस्था आउँछ भन्ने यकिन नहुने भएका कारण उच्च सतर्कता आवश्यक देखिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएर उपचार गराइरहेकाहरुको अवस्था निक्कै दयनीय छ ।
कतिपय सङ्क्रमितले समयमा उपचार पाउन सकिरहेका छैनन् । नेपालका विभिन्न स्वास्थ्य संस्थाले सञ्चालन गरेका कोभिड अस्पताल सङ्क्रमितले भरिभराउ छन् । सरकारले प्रभावकारी उपचार दिन सकिरहेको छैन । अक्सिजन नपाएर कतिपयको मृत्यु भइरहेको छ । उपचारका क्रममा छटपटाउँदा छटपटाउँदै मृत्युवरण गरिरहेका सङ्क्रमितको दृष्य हेरेका चिकित्सकको हृदयविदारक कुराले सबैलाई झस्काउन थालेको छ । उनीहरुले आफै सचेत भएर कोरोनाबाट बच्न सबैमा अपिल गरिरहेका छन् ।
नत्र अवस्था थप भयावह बनेर जाने उनीहरुको चेतावनी छ । नेपालले पनि भारत लगायत विश्वमा कोरोनाबाट अत्यन्त प्रभावित बनिरहेका अन्य मुलुककै जस्तो नियती भोग्नुपर्ने अवस्था आउनसक्ने उनीहरुको भनाइ छ । सर्वसाधारणकै लापरबाही र सरकारले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसक्दा नेपाललाई पनि कोरोनाले गाँज्दै लगेको छ ।