विप्लव समूहका नेता माइला लामा रिहा, धराैटीमा छुटे विप्लवका दाजु वीरजंग

निरन्तर न्यूज
१७ बैशाख २०७८, शुक्रबार १४:०६

किमाथाङ्का । सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार रिहा भएका छन् ।

सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार रिहा भएका हुन् । सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो ।

विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्ली प्रसाईँले बताए ।

नेता लामा विसं २०७६ साउन ५ गते काठमाडौँबाट पक्राउ परेका हुन् । लामालाई विभिन्न जिल्ला हुँदै सङ्खुवासभा ल्याइएको थियो ।

जिल्ला अदालत चैनपुरले सङ्गठितरूपमा हातहतियार ओसारपसार, सञ्चय तथा प्रयोग मुद्दामा रु २५ हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुर विसं २०७६ फागुन ७ गते कारागार चलान गरेको थियो ।

विप्लव समूहले आफ्ना नेता–कार्यकर्ता रिहा गर्ने सहमति पालना नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । नेता मालालाई परिवारको जिम्मामा छाडिएको छ ।

नेता लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासङ्घको अध्यक्षसमेत थिए । तर पार्टी विभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए ।

माओवादी जनयुद्धको क्रममा उहाँका हातका केही औँलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ ।

उनले सयौँ क्रान्तिकारी गीत गाउनुभएको छ । उहाँले सङ्गीत दिनुभएका धेरै गीतमध्ये नेत्रविक्रम चन्द (विप्लव) को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित मानिन्छ ।

धराैटीमा छुटे विप्लवका दाजु वीरजंग

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ चितवनबाट रिहा भएका छन् । उनी शुक्रवार जिल्ला कारागार चितवनबाट २५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेको चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए।

२०७७ असोज २८ गतेदेखि चितवन कारागारमा रहेका उनी जिल्ला अदालत नवलपरासीको आदेशपछि रिहा भएका हुन। नेकपा र सरकारबीच सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका थुप्रै नेता कार्यकर्ताहरु यसअघि नै रिहा भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*