पूर्व प्रधानमन्त्री भट्टराईकाे ट्युमरकाे शल्यक्रिया सम्पन्न
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएकाे छ ।
आज ९ बजे अपरेशन थिएटरमा लगिएकाे डाक्टर भट्टराईलाई करिब ५ घण्टापछि अपरेशन गरिएकाे उनकाे सचिवालयले जनाएकाे छ ।
वीर अस्पतालका प्राेफेसर डाक्टर सुबोध अधिकारी लगायतकाे टाेलीले डाक्टर भट्टराईको सफलतापूर्वक शल्यक्रिया गरेकाे हाे । शल्यक्रिया गरे पश्चात डाक्टर भट्टराईले दाेहाेराे संवाद गरिसक्नुभएकाे र वहाँकाे स्वास्थ्य अवस्था राम्राे रहेकाे भट्टराईसँग भेट गरेका डाक्टर ज्ञानेन्द्र शाहले जानकारी दिनुभयाे । डाक्टर शाहसँगै भट्टराई पत्नी हिसिला यमिलगायतका परिवारका सदस्यहरुले भेट गरिसकेकाे बताइएकाे छ ।
नेपालकै अस्पताललाई प्राथमिकतामा उपचार गराउने डाक्टर भट्टराईलाई चिकित्सकको सुझावअनुसार सरकारी अस्पताल वीरमा शल्यक्रिया गराइएकाे उनकाे सचिवालयले जनाएकाे छ ।
यसअघि ट्युमरमा क्यान्सरको शंका गरि केही समय अघि भारतको दिल्लीमा उनको स्वास्थ्य जाँच गराइएकाे थियाे । वायोप्सी, DOTA NOC परीक्षण, PET CT Scan सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको र शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार शल्यक्रिया गर्न लागिएकाे हाे ।
यस अघि भट्टराईकाे प्राेस्टेटकाे उपचार भक्तपुरकाे नागरिक कम्युनिटि टिचिङ हस्पिटलमा गरिएकाे थियाे ।