हेटौंडामा हुने राष्ट्रिय सभा सदस्य उपचुनावमा पाँच दलले भाग लिने
हेटाैँडा । वाग्मती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपचुनावमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् । उपचुनावका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उपचुनावका लागि एमालेलाई सूर्य र क्रम एक, कांग्रेसलाई रुख र क्रम दुई, नेकपा (माओवादी केन्द्र) लाई गोलाकारभित्र हँसिया हथौडा चिह्न र क्रम तीन, राप्रपालाई हलो चिह्न र क्रम चार तथा नेमकिपालाई मादल चिह्न र क्रम पाँचको क्रममा मतपत्रमा समावेश गरिने भएको छ ।
आउँदाे जेठ ६ गते बिहीवार हुने प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपचुनावका लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने आयोगले निर्णय गरेको छ ।
उपचुनावका लागि ३ सय ४८ मतदाता कायम
उपचुनावका लागि प्रदेश सभा सदस्य एक सय १० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख दुई सय ३८ गरी तीन सय ४८ मतदाता कामय भएको छ ।
आयोगका अनुसार स्वीकृत भएको मतदाता नामावली यही वैशाख २१ गते बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा प्रकाशन गर्ने र प्रकाशित मतदाता नामावलीमा त्यही दिनको बिहान ११ बजेदेखि बेलुकी पाँच बजेसम्म नाम समावेश हुन छुटेका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने व्यवस्था गरिएको छ ।
मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजुरी दिन सकिने छ ।
उपचुनावका लागि तयार भएको नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ ।