पूर्वप्रधानमन्त्री भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया वीर अस्पतालमा, आजै भर्ना गरिने
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिने भएको छ ।
आज ११ बजेकाे समयमा काठमाडौंस्थित वीर अस्पतालमा भर्ना भई बैशाख १७ गते शुक्रबार शल्यक्रिया गरिने भट्टराईकाे सचिवालयले जनाएकाे छ ।
वीर अस्पतालका चिकित्सक सुबोध अधिकारी लगायतकाे टाेलीले डाक्टर भट्टराईको शल्यक्रिया गर्न लागेको बताइएकाे छ ।
नेपालकै अस्पताललाई प्राथमिकतामा उपचार गराउने डाक्टर भट्टराईलाई चिकित्सकको सुझावअनुसार सरकारी अस्पताल वीरमा शल्यक्रिया गराउन लागेकाे उनकाे सचिवालयले जनाएकाे छ ।
यसअघि ट्युमरमा क्यान्सरको शंका गरि केही समय अघि भारतको दिल्लीमा उनको स्वास्थ्य जाँच गराइएकाे थियाे । वायोप्सी, DOTA NOC परीक्षण, PET CT Scan सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको र शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार शल्यक्रिया गर्न लागिएकाे हाे ।
यस अघि भट्टराईकाे प्राेस्टेटकाे उपचार भक्तपुरकाे नागरिक कम्युनिटि हस्पिटलमा गरिएकाे थियाे ।