४ महिनापछि बामगती प्रदेशकाे मन्त्रीमण्डल विस्तार
हेटौंडा । बागमती प्रदेशमा नब नियुक्त तीन जना मन्त्री र एक जना राज्यमन्त्रीले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । मन्त्रीपरिषद् विस्तार गरिए लगतै प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले तीन जना मन्त्रीलाई सपथग्रहण गराउनुभयो । त्यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक जना राज्यमन्त्रीलाई सपथग्रहण गराउनुभयो ।
प्रदेशमा रित्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रुपमा सरेश नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रीमा केशबराज पाण्डे, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डाक्टर रामकुमार अधिकारीलाई मुख्यमन्त्री पौडेलले नियुक्त गर्नुभएको हो ।
नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा पुस १० गते तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो ।
सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएपछि बागमतीका तीन मन्त्रालय मन्त्रीविहिन थियो ।
तीनवटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आउनुभएको थियो । करिब चार महिना मन्त्रीविहिन रहेको मन्त्रालयको जिम्मेवारी सत्तारुढ नेकपा एमाले ओली पक्षका सांसदलाई दिइएको हो ।