नेता-कार्यकर्तामाथि लागेका मुद्दा फिर्तापछि जसपा र सरकारबीच गठबन्धन बन्न सक्ने
काठमाडौं । सरकारले जनता समाजवादी पार्टी (जसपा) नेता-कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिएको छ । सरकाले जसपासँग भएको सहमति अनुसार तराई मधेशका नेता-कार्यकर्तामाथि लागेका विभिन्न राजनीतिक मुद्दा फिर्ता लिएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १० वटा राजनीतिक मुद्दा फिर्ता लिने निर्णय गरेको हो । फिर्ता लिने निर्णय गरिएका मुद्दामध्ये ९ वटा जसपाका नेता-कार्यकर्ता र एउटा नेत्रविक्रम चन्द विप्लवको नेकपासँग सम्बन्धित छन् ।
सरकारसँग जारी बार्ताका क्रममा विभिन्न २४ वटा राजनीतिक मुद्दामा जेलमा रहेका २ सय ८ जनालाई रिहाई गर्नुपर्ने जसपाको माग अनुसार मन्त्रिपरिषदको बैठकले ९ वटा मुद्दा फिर्ता लिएको हो । यस्तै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकार सकारात्मक देखिएको छ ।
जसपाका नेता-कार्यकर्तामाथि लागेका २४ वटा मुद्दामध्ये ९ वटा मुद्दा फिर्तापछि अब १५ वटा मुद्दा बाँकी छन् । तर महान्यायाधिवक्ता कार्यालयको सिफारिसका आधारमा मन्त्रीपरिषदले बाँकी मुद्दा फिर्ता लिने तयारी गरेको उच्च श्रोतको भनाई छ । रेशम चौधरीलाई छुटाउन भने कानुनी झण्झट रहेकाले सरकार पछि हटेको छ ।
कैलाली घटना बाहेक अन्य विभिन्न समयमा भएका आन्दोलनमा जेल परेका नेता कार्यकर्तालाई छुटाउने प्रक्रिया शुरु भएको जसपा नेता एवं सरकारसँगको बार्ता टोलीका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । सत्ता जोगाउन प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गरेको उनको भनाइ छ ।
सरकारले रेशम चौधरी बाहेकका राजनीतिक मुद्दा फिर्ता लिएसँगै जसपा र सरकारबीच गठबन्धन बन्ने संकेत देखिएको छ । संविधान संशोधन लगायत पार्टीले उठाएका अन्य मागबारे सरकारले गर्ने सम्बोधनका आधारमा आगामी गठवन्धन तय हुने नेता कर्णले बताए ।