कांग्रेसको नेतृत्वमा सरकार बनाउन नसकिने जसपाको निचोड

निरन्तर न्यूज
२९ चैत्र २०७७, आईतवार २१:०४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन सकिने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।

सत्ता समीकरणका लागि निर्णायक ठानिएको जसपाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन तत्काल सम्भव नभएको निश्कर्ष निकालेको हो ।

राजधानीमा आइतवार बसेको जसपा पदाधिकारीको बैठकमा धेरैजसो सदस्यहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको बताएका थिए ।

शुक्रवार कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने भन्दै सहयोगका लागि माओवादी केन्द्र र जसपासँग आग्रह गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएकोले सरकारसँगै छलफल अघि बढाउने जसपाका एक नेताले बैठकपछि बताएका छन् ।

जसपाले लाल आयोगको प्रतिवेदन कार्यान्वयन तथा राजनीतिक आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गर्न सरकारसँग माग गरेको छ । जसपाका अर्का नेता लक्ष्मणलाल कर्ण आफूहरुका माग जसले पूरा गर्छ उसैसँग सहकार्य गर्ने पार्टीको नीति रहेको बताउँदै आएका छन् ।

अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायत जसपाका नेताहरु ओली सरकारबाटै आफूहरुका माग पूरा गराउने पक्षमा छन् । अर्का अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराईलगायत नेताहरु भने ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् ।

नयाँ गठबन्धन बनाउने प्रस्ताव गरे पनि कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं प्रधानमन्त्री बन्न इच्छुक नदेखिएको जसपाका अध्यक्ष महन्थ ठाकुरको भनाइ छ । गठबन्धनबारे छलफल नै नभई कांग्रेसले सरकारको नेतृत्व दावी गर्नु गलत भएको समेत उनले बताएका एक नेताले बताएका छन् । साझापाेष्टबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*