‘आँचल साहित्य कला पुञ्ज’ ५० हजार राशीसहित सम्मानित
हेटौंडा । मकवानपुरे महिला साहित्यकाहरुको संस्था आँचल साहित्य, कला पुञ्ज आज हेटौंडामा आयोजित एक कार्यक्रममा सम्मानित भएको छ । रुद्रप्रसाद रिजाल स्मृति कोष मकवानपुरले आयोजना गरेको विशेष साहित्यक कार्यक्रममा आँचललाई ५० हजार राशीसहित सम्मान गरेको हो । कोषले आयोजना गरेको कार्यक्रममा आँचललाई विष्णुकुमारी रिजाल स्मृति सम्मान–२०७७ बाट सम्मानित गरिएको हो । जिल्लामा महिला साहित्यकारको एक मात्र संस्था आँचलले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको कोषले जनाएको छ ।
संस्थाले महिला साहित्यकारको संरक्षण गर्दै नयाँ पुस्तालाई साहित्य क्षेत्रमा प्रोत्साहन र पुरानालाई संरक्षण गर्दै मकवानपुरे साहित्यमा पुर्याएको योगदान स्वरुप सम्मान गरिएको उल्लेख छ । यसैगरी कार्यक्रममा स्वर्गद्वारी आश्रमलाई पनि ५० हजार राशीसहित सम्मान गरिएको छ । रुद्रप्रसाद रिजाल स्मृति सम्मान–२०७७ बाट काठमाडौंको पशुपतिमा रहेको आश्रमलाई सम्मान गरिएको हो । आश्रमले नेपाली संस्कृति र भाषा संरक्षणमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको उल्लेख छ ।
कोषले २०५५ सालमा विभिन्न क्षेत्रमा यागदान पुर्याउने संस्था तथा व्यक्तिलाई सम्मान गर्दै आएको छ । कार्यक्रममा आँचलकी अध्यक्ष अनिता न्यौपानेले सम्मानले अझै साहित्यक क्षेत्रमा काम गर्न संस्थालाई उर्जा मिलेको बताइन् । उनले मकवानपुरे साहित्यको संस्थागत विकास गर्दै महिला साहित्यमा लाग्न झन उत्साह मिलेको बताइन् । उनले छोटो समयमा सबैको साथ र सहयोगले आँचलले गति लिन सकेको भन्दै सबै सहयोगीलाई धन्यवाद दिइन् ।
कार्यक्रममा बासुदेवप्रसाद रिजाल र विष्णुकुमारी रिजालको व्यक्तित्वका बारेमा रामचन्द्र आचार्य ( फुर्सदी) र नन्दरत्न स्थापितले बोलेका थिए । कोषका अध्यक्ष आरसी रिजालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्राध्यापक तथा साहित्यकार रामबाबु घिमिरे रहेका थिए । विशेष अतिथि साहित्यकार सरु भक्त रहेको कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार निमेष निखिल, हास्यव्याङ्ग्यकार तिलकराज शर्मा, आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल, रुद्रप्रसाद र विष्णुकुमारी रिजालको छोरी शोभा रिजाल अधिकारीलगायतले मन्तव्य गरेका थिए । कार्यक्रममा रुद्रप्रसाद र विष्णुकुमारी रिजालको छोरी बिनु ओझाले आमाको सम्झनामा लेखेको आमाको सम्झना नामक पुस्तकको विमोचन गरिएको थियो ।