जसपाले ओलीतन्त्रको घाँस खान्न : बाबुराम भट्टराई
काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमले जनता समाजवादी पार्टी ( जसपा) लाई निर्णायक भूमिकामा पुर्याइदिएको छ । अंकगणितीय हिसाबबाट हेर्दा नयाँ सरकार गठन वा ओली नेतृत्वको सरकारको निरन्तरतामा जसपाले निर्णायक भूमिका खेल्न सक्छ ।
तर जसपाले ओली सरकारलाई नै निरन्तरता दिने या विकल्प खोज्ने भन्नेबारे अझै औपचारिक निर्णय गर्न सकेको छैन । साथै, सत्ता समीकरणमा सहभागी हुनुपूर्व जसपा नेपालले रेशम चौधरीको रिहाइ लगायतका माग पूरा हुनुपर्ने अडान राख्दै आएको छ ।
जसपाका केही नेताहरु प्रधानमन्त्री ओलीलाई निरन्तर भेटिरहेका छन् । यद्यपि, सरकारले चौधरीको रिहाइबारे औपचारिक रुपमा केही भनेको छैन । यता जसपाभित्र समेत सरकारमा जाने वा नजाने भन्नेबारे दुई मत देखिन्छन् ।
नेता महन्त ठाकुर लगायतका केही नेता सरकारमा जान सकिने संकेत गरिरहेका छन् भने डा. बाबुराम भट्टराई एवं उपेन्द्र यादवले ओली सरकारमा जान नहुने भनिरहेका छन् ।
यसै सेरोफेरोमा बिहीबार पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आफ्नो पार्टीले ओली सरकारलाई समर्थन नगर्ने संकेत गर्दै ट्विटमार्फत् आफ्नो धारणा राखेका छन् । उनले रेशम चौधरी लगायतका राजबन्दीको रिहाइलाई सरकारमा जाने कुरासँग जोड्न नहुने बताएका छन् ।
‘रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस्!के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो!’, भट्टराईको आफ्नो ट्विटरमा लेखेका छन्, ‘के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए?जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया!’