गण्डकी प्रदेशमा माधव नेपालकाे समानान्तर एमाले
पोखरा । नेकपा एमालेका नेता माधव नेपाल समूहले गण्डकी प्रदेशमा समानान्तर पार्टी कमिटी गठन गरेको छ । उक्त प्रदेश कमिटीको नेतृत्व गर्ने जिम्मेवारी नेता सुरेन्द्र पाण्डेले पाएका छन् ।
पाण्डेलाई एमालेको केपी ओली समूहले आजै कारबाही गरेको थियो । विहीबार नेता नेपाल आफैं पोखरा पुगेर समानान्तर कमिटी बनाएका हुन् । प्रदेशको संयोजक पाण्डे बनेका छन् भने सहसंयोजकमा तुलबहादुर गुरुङ र श्रीमाया थकाली रहेका छन् ।
विहीबार आयोजित भेलाले प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी बनाउनेगरी नेताहरुलाई जिम्मेवारी दिएको छ । जिल्ला भेला गर्ने जिम्मेवारी कास्कीमा धनराज आचार्य, स्याङ्जामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुँमा शंकरनारायण श्रेष्ठले पाएका छन् ।