नेपाल-खनाल पक्षले बोलायो स्थायी समिति बैठक
काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले आफू निकट स्थायी समिति सदस्यहरूको बैठक बोलाएको छ। एमाले संस्थापन पक्षले नेता नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन गरेपछि नेपाल पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्।
उनीहरू मध्याह्न १२ बजेपछि छलफलमा जुट्न लागेका हुन्। छलफलको स्थान भने खुलाइएको छैन। एक नेताले भने, ‘पछिल्लो परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न लागिएको हो।’ एमालेका नेता नेपाल निकट एक नेताले कारबाहीपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको बताए।
ओलीको कदमबारे थप रणनीति बनाउन नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बस्न लागेको उनले बताए। बैठकमा कारबाहीपछिको रणनीतिबारे छलफल हुने बताइएको छ। नेपाल र रावललाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको आरोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए।
ओलीको पछिल्लो कदम पार्टी नीति र मापदण्डविपरित भएको भन्दै नेपाल र रावले कारबाही अस्वीकार गरिसकेका छन्। नेता नेपालले आफूले ओलीको डटेर सामना गर्ने बताएका थिए। ओलीले आफ्ना समूहका नेताहरूलाई कारबाही गर्न थालेपछि खनाल-नेपाल समूहले जिल्लाहरूमा समानान्तर समिति बनाउने रणनीति बनाएको छ। आजको छलफलमा अबको थप रणनीतिबारे छलफल हुने एक स्थायी समिति सदस्यले बताए।