मन्त्रीहरुको सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दै सिडीओ र एसपीकाे सरुवा

निरन्तर न्यूज
१७ चैत्र २०७७, मंगलवार ०९:५३

काठमाडौं । सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र दुई प्रहरी प्रमुखको सोमवार एकै साथ सरुवा भएको छ । मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सुरक्षा व्यवस्थापनमा कमजोरी गरेको भन्दै गृहमन्त्रालयले तीनै जनाको सरुवा गरेको स्रोतको दाबी छ ।

प्रजिअ पीताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल र सशस्त्र प्रहरी प्रमुख एसपी भरत खनियाको सरुवा भएको हो ।गत फागुन २१ गते सरकारले मोतीपुर औद्योगिक क्षेत्रमा तयारी बिनै शिलान्यास कार्यक्रम गरेको थियो ।

उद्योगका लागि अधिग्रहण गरेको जग्गामा आफूहरूको व्यवस्थापन नगरी ‘जबरजस्ती’ शिलान्यास गरेको भन्दै स्थानीयले कार्यक्रम अवरोध गरेका थिए । अवरोधकै बीच शिलान्यास गर्न खोज्दा स्थानीयले मन्त्रीमाथि ढुंगा प्रहार गरेका थिए ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले प्रजिअको सरुवा भएको पुष्टि गरे । उनका अनुसार रूपन्देहीका प्रजिअ घिमिरेको पर्सा सरुवा भएको छ । रूपन्देहीमा पर्साका प्रजिअ अस्मान तामाङ आउने भएका छन् । इकान्तिपुरबाट साभार गरिएकाे खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*